Wednesday, October 5, 2016

हेइटीमा आँधीबेहरीका कारण व्यापक क्षति

Tags

हेइटीमा एउटा विनाशकारी आँधीसँगै आएको मुसलधरे वर्षा र बाढीका कारण उल्लेख्य क्षति भएको र एउटा पुल भत्कँदा देशको दक्षिणी तटीय क्षेत्रसँगको सम्पर्कविच्छेद भएको अधिकारीहरुले बताएका छन्।
म्याथ्यु नामक उक्त शक्तिशाली आँधीका कारण हेइटीमा कम्तीमा एक र छिमेकी डोमिनिकन रिपब्लिकमा चारजनाले ज्यान गुमाएका छन्।
अझै क्षतिको पूर्ण विवरण आइसकेको छैन तर कैयौं घरहरु भत्किएको, हावाहुरीले लडाएका रुख र भीषण वर्षासँग खसेका पहिरोका कारण कैयौं सडक अवरुद्ध भएको र कतिपय चोकहरु जलमग्न भएको जनाइएको छ।
हेइटीको पश्चिम क्षेत्रबाट अघि बढेको उक्त म्याथ्यु नामक आँधी अहिले पूर्वी क्युबा नजिकै पुगेको बताइन्छ।

बाढी

राजधानी पोर्ट ओ प्रिन्ससँग जोड्ने एउटा पुल ध्वस्त भएपछि दक्षिणी हेइटीसँगको सडक सम्पर्कविच्छेद भएको छ।
एउटा दक्षिणी तटीय नगरकी उपमेयरले त्यहाँको अवस्था भयावह भएको बताएकी छन्।
उनका अनुसार झण्डै ७० हजार जनसंख्या रहेको ले के नगरमा बाढी पसेको छ र कैयौं घरका छतहरु हावाहुरीले उडाएको छ।
अर्को शहरमा घरबाट भाग्न नसकेका एकजना बिरामी व्यक्तिको ज्यान गएको छ।
हेइटीका अन्तरिम राष्ट्रपति जोसेलेर्मे प्रिभटले समुन्द्र नजिकैका केहि मानिसहरुले आँधीको चेतावनीलाई बेवास्ता गरेको बताए तर विस्तृत विवरण दिएनन्।
छिमेकी डोमिनिकन रिपब्लिकमा सुख्खा पहिरो र पर्खाल भत्कँदा ४ जना मारिएका छन्।

प्रयास

अधिकारीहरुले पुल भत्किएपछि सम्पर्क टुटेको दक्षिणी तटीय क्षेत्रसम्म पहुँच कायम गर्ने प्रयास गरिरहेको बताएका छन्।
तर वैकल्पिक मार्ग पत्ता लगाउन कठिन रहेको जनाएका छन्।
हेइटी विश्वको सबैभन्दा गरिब मध्येको देश हो र त्यहाँका एक करोड १० लाख मध्ये धेरै मानिसहरु बाढीको उच्च जोखिम रहेका क्षेत्रहरुमा कमसल खालका घरहरुमा बस्ने गर्छन्।
हेइटीका अधिकारीहरुले विपदमा प्रयोग गर्न बनाइएका १३ सय अस्थायी आवासमा साढे तीन लाख मानिसहरु अटाउने जनाएका छन्।
पछिल्लो आँधीबेहरीका कारण त्यहाँका दुईवटा विमानस्थल पनि बन्द गरिएको थियो।
पोर्ट ओ प्रिन्समा रहेका सरकारी अावासकेन्द्रहरु भरिँदै गएका छन् र अधिकारीहरुले खाना र पानी जुटाउन सहयोग मागिरहेका छन्।


EmoticonEmoticon