Wednesday, October 5, 2016

'डा. केसीको मागबारे संसद उदासीन'

Tags

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १० दिनदेखि अनसनमा बसेका डाक्टर गोविन्द केसीका माग प्रति संसद उदासीन बनेको आरोप केसीका समर्थकहरुले लगाएका छन्।
नवौं आमरण अनसनमा रहेका केसीका धेरै माग संसदसँगै जोडिएको तर ती विषयलाई टुङगो नै नलाएर संसद स्थगित गरिएको उनीहरुको भनाई छ।
तर शिक्षा मन्त्रीले भने संसद स्थगित भए पनि डाक्टर केसीसँग सरकारले यसअघि गरेको सहमति कार्यान्वयन प्रक्रियामा रहेको बताएका छन्।
चिकित्सा शिक्षा नीति विधेयक पारित गरिनुपर्ने, स्वास्थ शिक्षा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेकाले अख्तियारका प्रमुख आयुक्त र आयुक्तलाई महाअभियोग लगाउने प्रक्रिया थालिनुपर्ने जस्ता डाक्टर गोविन्द केसीका माग संसदसँगै जोडिएका छन्।

संसद




डाक्टर केसी नवौंपटक अनसनमा बसेको नवौं दिन मंगलबार व्यवस्थापिका संसदको बैठक असोज ३० गते सम्मका लागि स्थगित गरियो।
दशैं मनाउनका लागि संसदलाई स्थगित गरिएको भनाई संसद सचिवालयको छ जसका कारण संसदले डाक्टर केसीका मागहरुलाई यसपटक टुंगो लगाउला कि भन्ने आशामा रहेका उनका समर्थकहरु भने निरास बनेको देखिन्छ।
अनसनमा बसिरहँदा मागहरुबारे कुनै निर्णय नै नगरी संसद स्थगित गरिएको प्रति गुनासो गर्दै डाक्टर केसीको समर्थनमा सञ्चालन भइरहेको अभियानका संयोजक डाक्टर जीवन क्षेत्रीले भने,"उहाँले उठाउनु भएका मागहरु प्रति संसद पटक्कै संवेदनशील देखिएन, अख्तियारका प्रमुख आयुक्त सहितका अन्य जुन-जुन मागहरु उठे त्यसमा संसद गम्भीर नै देखिएन।"



शिक्षामन्त्री धनीराम पौडेलले संसद स्थगित भए पनि डाक्टर केसीका मागहरु कार्यान्वयनको प्रक्रियामा रहेको बताए।
चिकित्सा शिक्षा नीति सम्बन्धी विधेयक संसदमा पेश गरी समितिमा छलफल भइरहेको, चिकित्सा शिक्षा अध्ययन संस्थानमा डिन नियुक्तिबारे सिफारिस समिति बनाएर त्यसले काम गरिरहेको र प्रतिवेदन आए लगत्तै कार्यान्वयन गरिने उनको भनाई छ।
त्यसबाहेका अन्य विषयमा छलफल भइरहेको शिक्षामन्त्री पौडेलले बताए।
उनले भने, "उहाँहरुसँग संवादमै छौं मागहरु पूरा गर्नेुपर्ने प्रक्रियामा सकारात्मक ढंगले लागेका छौं, विगतमा सरकारले सम्झौता मात्र गर्यो भन्ने डाक्टर केसीको भनाई थियो तर अब त कार्यान्वयन नै थालिएको छ भन्ने विषयलाई उहाँले पनि प्रशंसा गर्नुपर्ने हो।"

आग्रह

महाअभियोगका लागि संसदमा प्रस्ताव सासंदमार्फत आउनुपर्ने र त्यसका लागि आफ्नै प्रक्रिया रहेको उनको भनाई छ।
संसद स्थगित भइसकेको अवस्थामा अब के गर्ने भन्नेबारे डाक्टर केसीको निर्णय पर्खिने भनाई उनको समर्थनमा अभियान चलाइरहेकाहरुको छ।
अनसनको समय लम्बिँदै जाँदा डाक्टर केसीको स्वास्थ्य क्रमशः खस्किइरहेको र उनी दिनदिनै कमजोर हुँदै गएको बताइएको छ।
उनको स्वास्थ्य अवस्थाको अनुगमन गरिहेको राष्ट्रिय मानव अधिकार आयोगले एक विज्ञप्ति मार्फत डाक्टर केसीको जीवन रक्षा गरि वार्ताबाट समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको छ।


EmoticonEmoticon